बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ| गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नं. ५ मा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।
जातीय हिसाबले मिश्रित बसोबास रहेको यस गाउँपालिकामा थारु, मुस्लिम, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरु रहेका छन्। जातीय र भाषिक विविधता रहेको यस गाउँपालिका क्षेत्रमा मुख्य रुपमा हिन्दु धर्मावलम्बी नै रहे पनि मुस्लीम र क्रिश्चियन धर्म मान्ने जनसंख्या पनि यहाँ रहेको छ|