आधुनिक तरिकाले जग्गा, जग्गावाला र मोहीको लगत खडा गरी मालपोतका जग्गा हाल आवादी सम्बन्धी व्यवस्थामा समायोचित सुधार गरी सर्वसाधारण जनताको सुधार तथा आर्थिक हित कायम राख्नको लागि वि.सं. १९९६ साल अगावै मालपोत विभाग र २०२१ सालमा भूमिसुधार विभागको स्थापना भै छुट्टाछुट्टै काम गर्दै आएकोमा मिति २०५७।३।२६ मा दुवै विभाग गाभिई भूमिसुधार तथा व्यवस्थापन विभाग भयो ।
भूमि सम्बन्धी ऐन,२०२१ अनुसार जिल्लामा शुरुमा भूमिसुधार कार्यालय तथा माल अड्डाका रुपमा स्थापना भै काम गर्दै आएकोमा भूमि प्रशासन ऐन, २०२४ बमोजिम भूमिसुधार कार्यालय तथा माल अड्डाका रुपमा स्थापित यस्ता अड्डा स्वतः खारेज भै सो कार्यालयले गर्ने सम्पूर्ण काम कारवाही भूमि प्रशासन कार्यालयले गर्ने गरी स्थापना भयो । स्थापना पश्चात् भूमि सम्बन्धी काम कारवाही गर्दै आएकोमा तत्कालीन श्री ५ को सरकारले आवश्यकता अनुसार मालपोत कार्यालय स्थापना गर्दै जाने नीति अनुरुप भूमि प्रशासन कार्यालयले गर्दै आएको काम कारवाही गर्ने गरी सुर्खेत जिल्लाको सम्पुर्ण अचल सम्पत्ती तथा जग्गा जमिनहरुको व्यवस्थापन गर्ने मुल उद्देश्यले सुर्खेतमा मालपोत कार्यालयको स्थापना भएको हो ।
यसको मुल कार्यहरु सार्वजनिक सम्पत्तीहरुको संरक्षण तथा व्यक्तिगत घरजग्गाको प्रचलित कानुनमा उल्लेख भए अनुसारको रजिष्ट्रेशन दस्तुर तथा शुल्क लिई सुक्रिविक्री गर्नुनै हो । मालपोत कार्यालय सुर्खेतको प्रमुख कार्यहरुः रजिष्ट्रेशन राजिनामा सट्टापट्टा संगोलनामा दर्ताफारी छोडपत्र हालैदेखिको बकसपत्र अन्य बकसपत्र, दानपत्र अंशवण्डा तथा अंश भर्पाइ मानो जोडिएको मानो छुट्टिएको शेषपछिको बकसपत्र दृष्टिबन्धकी, भोग बन्धकी धर्मपुत्र धर्मपुत्रीको सम्बन्धी नामसारी कपाली तमसुक र करारनामा धितोबन्धक तथा दृष्टि बन्धक ।
आधुनिक विद्धुतिय प्रविधि अवलम्वन गर्ने क्रममा भू सुचना व्यवस्थापन प्रणाली (Land Records Information Management System (LRIMS) परियोजना तथा पब्लिक एक्सेस मोडुल (PAM) प्रणाली संचालनमा आएको छ भने, यस मार्फत कार्यालयको कार्यक्षेत्र अन्तर्गत रहेका सेवाग्राहीलाइ मालपोत सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । सुर्खेत जिल्लामा छुट्टै भुमिसुधार कार्यालय नभएकाले भुमिसुधारको काम यसै मालपोत कार्यालयले नै गर्दै आइरहेको छ ।
नोटः माथि उल्लेखित प्रकृतिका लिखतहरु पारित गर्दा प्रत्येक आ.व.को बजेटमा उल्लेख भै आए अनुसारको घरजग्गा रजिष्ट्रेशन दस्तुर र सेवा शुल्क असुल गर्ने साथै प्रकृया पुरा गरेको अवस्थामा सोहि दिन कार्यसम्पादन हुने ।