लुम्बिनी प्रदेशको पश्चिम तर्फ र साविक मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दुको रुपमा रहेको प्रमुख ब्यापारिक केन्द्र तथा लुम्बिनी प्रदेश अन्तर्गत्का १२ जिल्लाहरु मध्ये सवैभन्दा महत्वपूर्ण जिल्ला मध्ये बाँके जिल्लाको सदरमुकामको रुपमा रहेको उप–महानगरपालिका हो । शहर बाँके जिल्लामा अवस्थित पश्चिम नेपालको द्धार, नेपालगञ्ज नगरी, नेपालकै नामबाट स्थापना भएको प्रमुख शहरको रुपमा परिचित स्थान हो । यो शहर बिक्रम सम्बत २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ मंसीर १६ गतेको निर्णयबाट साविकका १० वटा गा.वि.स. गाभेर २७ वटा वडा कायम गरि नेपालगंज उप–महानगरपालिका घोषणा गरिएको र मिति २०७२।०६।१ को निर्णयबाट पुरैनी गा.वि.स. गाभेर २८ वडा कायम गरिएको थियो । मिति २०७३।११।२७ गतेको निर्णयानुसार साविकका २८ वडा परिमार्जन भई २३ वटा वडा कायम गरिएको छ । २३ वडाको कूल क्षेत्रफल क्षेत्रफल ८५.९४ वर्ग किलोमिटर रहेको छ । पुर्व – पश्चिम राजमार्गबाट १० किलोमिटर दक्षिणमा पर्ने नेपाल भारत सिमा नाकासंग जोडिनु यो शहरको अर्को बिशेषता पनि हो ।