सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालित, 'प्रखर परोपकार मिशन नेपाल' तथा दिनदयाल जी महाराजको संयुक्त संकल्पद्वारा स्थापित कर्णाली, सुदुरपश्चिम तथा लुम्बिनी प्रदेशकै एक मात्र क्यान्सर अस्पताल हो। विशेषज्ञ चिकित्सक सहितको गुणस्तरीय सेवा दिइरहेको यस अस्पतालले अहिले क्यान्सर सम्बन्धि उपचारका लागि उपचारात्मक, निदानात्मक तथा प्रशामक सेवा सञ्चालन गरिरहेको छ। केमोथेरापी, शल्यचिकित्सा, पाठेघरको भित्रि सेकाइ लगायतका सेवाहरु निरन्तर संचालित छन्। यसका साथै बाहिरी सेकाइको लागि मेसिन जडान भइ सुरुवातको तयारी रहेको छ। यस अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीहरुको फोक्सो, स्तन, रक्तनली, नाक-कान-घांटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली तथा पिसाबथैली लगायतका क्यान्सरको उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। सुरुवाती चरणमा सिमित सेवा बाट सुरु गरिएको अस्पताल अहिले विस्तारित अवस्थामा प्रवेश गर्ने क्रममा छ। पश्चिम नेपालकै एक मात्र पोजेटिभ प्रेसर आइ. सी. यु, मेमोग्राफी, सिटीस्क्यान, चौबिसै घण्टा संचालनमा रहने अत्याधुनिक ल्याब तथा एक्सरे सेवा सहितको सेवा दिइरहेको छ।