कर्णाली प्रदेशकाे प्रादेशिक राजधानी सुर्खेत जिल्ला करिब २४५१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकाे छ । बाह्रबण्डाल १८ खण्डालको नामले परिचित यस क्षेत्रको पूरानो नाम दोभानचौर हो । यसको कूल क्षेत्रफल मध्ये ३४ वर्ग किलोमिटर शहरी क्षेत्र र २४१७ वर्ग किलोमिटर ग्रामीण क्षेत्रको रूपमा रहेको छ । जसमा ५२,२०० हेक्टर खेतीयोग्य जमीन र ३७,४४४ हेक्टर वन जंगलले ढाकेको क्षेत्र रहेको छ । १४,४०१ हेक्टर चरनक्षेत्र रहेको यस जिल्लामा १७४२.५ हेक्टर सिञ्चित जमीन रहेको छ । समुन्द्री सतहबाट १९८ देखि २३६७ मिटर उचाईसम्म यसको भू–भाग फैलिएको छ । यो जिल्ला पश्चिममा डोटी, उत्तरमा अछाम, दैलेख जाजरकोट, पूर्वमा सल्यान र दक्षीणमा बर्दिया र कैलाली जिल्लाले वेस्ठित छ । कर्णाली प्रदेशको भित्री मधेशक्षेत्र र प्रादेशिक राजधानी समेत यसै जिल्लामा रहेको छ । यस जिल्लामा ५ नगरपालिका र ४ गाँउपालिका रहेका छन् । विभिन्न ताल तलैया, गुफा, मठ मन्दिर, गुम्बा र मस्जिद रहेको यो जिल्ला हिमाली, पहाडी, र मधेशमा बसोवास गर्ने विभिन्न जातजातिका मानिसहरूको संगमस्थल हो ।